मेक्सिको सिटीमा जेनजी आन्दोलनको विस्तार, युवा प्रदर्शनकारी र प्रहरीबीच हिंसा
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । मेक्सिको सिटीमा अपराध र भ्रष्टाचारविरुद्ध भइरहेको जेनजी आन्दोलनले नयाँ गति समातेको छ। हजारौं युवा प्रदर्शनकारीहरू सडकमा उत्रिएर तीव्र विरोध जनाएका थिए । जसले हिंसात्मक झडपको रुप लिएको छ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा र लाठीले आक्रमण गरेका थिए भने प्रहरीको ढाल र अन्य सुरक्षा उपकरणहरूलाई पनि नष्ट गरेका छन्। मेक्सिको सिटीका सुरक्षा सचिव पाब्लो भाज्केजका अनुसार, प्रदर्शन र झडपका कारण १२० जना घाइते भएका छन् ।
जसमा १०० जना प्रहरीकर्मी रहेको जानकारी प्राप्त भएको छ। २० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। यस भिडन्तमा तीव्र हिंसा र असहमति देखिएको छ । जसले गर्दा मेक्सिको सिटीको शहरी जीवनमा अस्थिरता थपिएको छ।
जेनजी आन्दोलनले यस वर्ष विभिन्न देशहरूमा भ्रष्टाचार र असमानताविरुद्ध विरोध प्रदर्शन गरेको छ। मेक्सिको सिटीमा भएको प्रदर्शनमा युवा वर्गले भ्रष्टाचार, असुरक्षा र अन्यायको विरुद्ध आवाज उठाएका छन्।
यस आन्दोलनले सामाजिक मिडियामा व्यापक चर्चा पनि पाएको छ र केही महिनाअघि नेपालमा पनि जेनजी विरोधको कारण प्रधानमन्त्रीको राजीनामा भएको थियो। मेक्सिकोका प्रदर्शनकारीहरूले आन्दोलनको प्रतीकको रूपमा समुद्री डाकुको खोपडी भएको झन्डा उठाएका छन्।
यो झन्डा मेक्सिकोका असमानता र भ्रष्टाचारविरुद्धको प्रतिक बनेको छ, र प्रदर्शनकारीहरूले यसलाई आफ्नो संघर्षको चिन्हका रूपमा प्रयोग गरेका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले विपक्षी दलहरूलाई जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोप लगाएकी छन्।
मेक्सिकोमा जेनजी आन्दोलनले भ्रष्टाचार र असमानता विरुद्धको संघर्षलाई विश्वव्यापी बनाउनका लागि बलियो कदम चाल्न सुरू गरेको छ। प्रदर्शनकारीहरूका आवाजले सरकारलाई परिवर्तन गर्न दबाब दिएको छ र यस आन्दोलनको भविष्यमा अझ ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।













