नेतृत्वको अहंकार, मनपरी निर्णय र विधिप्रति अनादरले पार्टीलाई पतनतिर धकेल्दै छ : तोसिमा कार्की

User Image Prime TV News ४ दिन अगाडि
Image of नेतृत्वको अहंकार, मनपरी निर्णय र विधिप्रति अनादरले पार्टीलाई पतनतिर धकेल्दै छ : तोसिमा कार्की

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विभाजन, निराशा र अविश्वासको वातावरण झन् गहिरिंदै गएको छ।

पार्टीभित्र निरन्तर सुधार र पुनर्निर्माण आवश्यक छ भन्ने आवाज उठाउँदै आएकी नेतृ तोसिमा कार्कीले फेरि एकपटक संस्थापन समूहमाथि कठोर प्रहार गरेकी छन्।

उनीले अनुसार नेतृत्वको अहंकार, मनपरी निर्णय र विधिप्रति अनादरले पार्टीलाई सीधै पतनतिर धकेल्दै छ।कार्कीले फेसबुकमा लेख्दै भनिन्, 'नेतृत्वले घमण्ड र दबाबको भरमा चल्ने हो भने त्यस शैलीको ‘ठूलाइ’ त केपी शर्मा ओलीले धेरै अघि देखाइसके।

उनले तेस्रो शक्तिको दाबी गर्ने रास्वपाले त्यही पुरानै अहंकारको बाटो पछ्याइरहेको आरोप लगाइन्। उनले सन्तोष परियार, सुमना श्रेष्ठलगायत सक्षम र लोकप्रिय नेताहरू पार्टी छाडेर जानु नेतृत्वकै भूलको परिणाम भएको बताइन्।

'सबै अट्ने सबै खट्ने पार्टी बनाउने मार्गचित्र रोक्नसम्म कसरत भयो। अन्त्यमा संगठनका साथीहरूको दबाबले मात्र त्यो प्रस्ताव अघि बढ्यो, तर निर्णयमा न विधि मानियो, न बहुमतको इज्जत गरियो,' उनले लेखिन्।

कार्कीले फरक विचार राख्नेहरूलाई मिडिया ट्रायलमा धकेलिने, चरित्र हत्या गर्ने र आत्मसम्मानमाथि प्रहार गर्ने प्रवृत्तिलाई अत्यन्त घृणित भन्दै चेतावनी दिइन्।

उनले स्पष्ट शब्दमा लेखिन्, “हठ, अहंकार र सुधारविरोधी मानसिकताले पार्टीलाई क्षतिग्रस्त बनाइरहेको छ। बेलैमा सुधार नभए अझ धेरै अब्बल व्यक्तिहरू पार्टीले गुमाउनेछ।”