एनपीएल दोस्रो संस्करणको तयारी पूरा, आन्दोलन वा अवरोधमूलक गतिविधि नगर्न सबै पक्षलाई आग्रह

User Image Prime TV News ५ दिन अगाडि
Image of एनपीएल दोस्रो संस्करणको तयारी पूरा, आन्दोलन वा अवरोधमूलक गतिविधि नगर्न सबै पक्षलाई आग्रह

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

शनिबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव पारस खड्काले यस वर्षको एनपीएल पहिलो संस्करणभन्दा धेरै रोमाञ्चक र व्यवस्थित हुने विश्वास व्यक्त गरे।

खड्काका अनुसार यसपटकको लिगमा फ्लड लाइटअन्तर्गत खेल खेलिनेछ, जसका लागि नयाँ प्यारापिट संरचना तयार गरिएको छ।

उनले नेपालमा क्रिकेट उद्योगका रूपमा विस्तार हुँदै गएको बताए, तर अझै धेरै काम आवश्यक रहेको पनि स्वीकारे। खड्काले भने, “हामी सबै फरक पृष्ठभूमिबाट आएका भए पनि एनपीएल सफल बनाउन एकजुट छौँ। यो संस्करण सबै हिसाबले फरक हुनेछ।”

दर्शक सुरक्षालाई प्राथमिकता दिँदै क्यानले पाँचवटा गेटमार्फत प्रवेश व्यवस्था गरिएको बताएको छ। टिकट भएका दर्शक मात्र मैदान भित्रिन पाउने व्यवस्था गरिएको छ। टिकट नभएकालाई टेलिभिजन वा ओटीटीमार्फत खेल हेर्न आग्रह गरिएको छ । 

एनपीएल करिब एक महिना चल्ने भएकाले क्यानले उपत्यकामा कुनै आन्दोलन वा अवरोधमूलक गतिविधि नगर्न सबै पक्षलाई अनुरोध पनि गरेको छ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दले दोस्रो संस्करणलाई पहिलोभन्दा उत्कृष्ट र व्यवस्थित बनाउन सबै तयारी भइसकेको उल्लेख गर्दै प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक यात्रामा नयाँ गति भर्ने विश्वास व्यक्त गरे।