फागुन २१ को निर्वाचन रोक्ने शक्ति छैन: सञ्चारमन्त्री खरेल

User Image Prime TV News ५ दिन अगाडि
Image of फागुन २१ को निर्वाचन रोक्ने शक्ति छैन: सञ्चारमन्त्री खरेल

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा तय गरिएको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने दाबी गरेका छन्।

दक्षिण कोरियामा रहेका नेपालीहरूसँग भेटघाटका क्रममा उनले निर्वाचनको वातावरण तयार भएको बताए । उनले  निर्वाचनको लागि सुरक्षा संयन्त्र तयार छ भने दलहरू बीच निर्वाचन बहिस्कार गर्ने कुनै संकेत नरहेको वताए ।

खरेलले भने, “चुनाव टार्ने बहाना खोज्नेहरू निरर्थक प्रयासमै अल्झिन्छन्। सुरक्षा बल तयार छन्, भयमुक्त मतदानका लागि आवश्यक सबै तयारी भइसकेको छ।” उनले प्रहरी नेतृत्वमा आएको नयाँ परिवर्तनले सुरक्षालाई अझ मजबुत बनाएको विश्वास व्यक्त गरे।

अन्तरिम सरकार जनजी आन्दोलनले उठाएको जनभावनाको जगमा बनेको भन्दै उनले सरकारको पहिलो कर्तव्य सुशासन, पारदर्शिता र भ्रष्टाचार–नियन्त्रण भएको बताए। मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफर्मेसनलाई नेपालको भविष्यको मेरुदण्डका रूपमा चित्रित गरे।

कोरियाको प्रगतिशील डिजिटल संरचनाबाट नेपालले सिक्नुपर्ने उल्लेख गर्दै उनले नेपालले स्थापना गरेको राष्ट्रिय एआई केन्द्रलाई प्रभावी बनाउन कोरियाबाट थप सहयोगको आशा व्यक्त गरे ।