राजनीति थलिँदा अर्थतन्त्र उठ्दैन: पूर्वअर्थमन्त्री लोहनी
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आर्थिक समस्या कुनै सामान्य उतारचढाव नभई गहिरो नैतिक र संरचनात्मक पतनको संकेत भएको चेतावनी दिए।
उनले राजनीति कमजोर हुँदा अर्थतन्त्र बलियो हुनै सक्दैन भन्दै, अहिले देखिएको आर्थिक सुस्तीलाई देशको भविष्यमाथिको प्रत्यक्ष खतराका रूपमा चित्रित गरे।
अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलमा लोहनीले सरकारसँग पैसा नभएको गुनासो गरिँदै आए पनि भएको पैसा समेत खर्च हुन नसक्नु नै राज्य सञ्चालनको दुर्बलता प्रमाणित गर्ने भयावह संकेत भएको बताए। उनले भने, “पैसा छ तर चल्दैन। निर्णय गर्ने हात कमजोर छन्। यस्तो व्यवस्थाले अर्थतन्त्र बचाउँछ भन्ने अपेक्षा गर्नु भ्रम हो।”
उनले निजी क्षेत्र उठाउने उद्देश्यले ब्याजदर घटाउँदै ल्याइएको भए पनि लगानीकर्ताको मनोबल उठ्न नसक्नु अझै ठूलो चिन्ता भएको बताए।
ब्याजदर एकल अंकमा पुगिसक्दा पनि लगानी अघि ननआउनु देश लिक्विडिटी ट्रयापमा फसेको स्पष्ट प्रमाण भएको उनको टिप्पणी थियो।
लोहनीले रेमिट्यान्सले टिकेको अर्थतन्त्रलाई उत्पादन, निर्यात र वास्तविक विकासतर्फ मोड्न सरकार असफल रहेको भन्दै कठोर आलोचना गरे ।













