नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यद्वारा १५औँ महाधिवेशनबारे ७ बुँदे ज्ञापनपत्र

User Image Prime TV News ६ दिन अगाडि
Image of नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यद्वारा १५औँ महाधिवेशनबारे ७ बुँदे ज्ञापनपत्र

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५औँ महाधिवेशन शीघ्र सुरु गर्नुपर्ने मागसहित सातबुँदे ज्ञापनपत्र पार्टी नेतृत्वलाई बुझाएका छन्। केन्द्रीय सदस्य उदय शम्शेर राणाका अनुसार ज्ञापनपत्र सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाइएको हो।

सदस्यहरूले ज्ञापनपत्रमा सरकारले २०८२ फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीले निर्धारित समयसीमाभित्रै महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका छन्।

ज्ञापनपत्रमा पार्टी विधानअनुसार १५औँ महाधिवेशन २०८२ मङ्सिर महिनाभित्र प्रारम्भ गरी तहगत अधिवेशन सक्नेगरी कार्यतालिका बनाएर लागू गर्न आग्रह गरिएको छ। उनीहरूले समयमै महाधिवेशन नहुनु पार्टी संगठन तथा आगामी निर्वाचन दुवैका लागि प्रतिकूल हुन जाने बताएका छन् ।

यस्तै महाधिवेशनको पहिलो पूर्वसर्त मानिने क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण प्रक्रिया ढिलो भएकाले स्पष्ट समयसीमा तोकी छिटो टुङ्ग्याउनुपर्ने माग पनि गरेका छन् ।

ज्ञापनपत्रमा उनीहरुले सदस्यहरूले पार्टी विधान संशोधनमार्फत युवाको महत्वपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, आगामी महाधिवेशनमार्फत युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र/वर्ग तथा अपाङ्गता भएका समुदायको अर्थपूर्ण सहभागिता अनिवार्य गर्नुपर्ने माग समावेश गरिएको छ ।