रास्वपाका नेता सन्तोष परियार पार्टी त्याग्दै छुट्टै राजनीतिक अभियान घोषणा

User Image Prime TV News ६ दिन अगाडि
Image of रास्वपाका नेता सन्तोष परियार पार्टी त्याग्दै छुट्टै राजनीतिक अभियान घोषणा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी त्यागेका छन्।

पार्टी नेतृत्वसँग बढ्दो मतभेदका बीच उनले शुक्रबार राजीनामा दिँदै छुट्टै राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका हुन्। परियारले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्।

विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकका रूपमा सक्रिय भूमिका निर्वाह गरेका परियार पछिल्ला महिनादेखि पार्टीभित्र देखिएका विवाद तथा नेतृत्व परिवर्तनसम्बन्धी बहसमा अग्रपंक्तिमा देखिन्थे।

चितवनमा सम्पन्न रास्वपाको विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग गर्दै नेतृत्वको शैलीमाथि प्रश्न उठाएका थिए। परियारको राजनीतिक पृष्ठभूमि वाम आन्दोलनसँग नजिक रहेको मानिन्छ।

रास्वपा स्रोतका अनुसार उनले हाल जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द ‘विप्लव’, मानुषी यमीलगायतसँग निरन्तर संवाद गरिरहेका छन्, जसका कारण उनको आगामी राजनीतिक यात्राबारे विभिन्न अड्कलहरू सुरु भएका छन्।

परियारको राजीनामासँगै रास्वपाभित्रको असन्तुष्टि थप सतहमा आएको छ। यसअघि केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन्। गएको हप्ता सामाजिक सञ्जालमार्फत उनले “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु, मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्” भन्दै पार्टी परित्यागको घोषणा गरेकी थिइन्।