मधेश प्रदेशका पाँच सांसद पदमुक्त, सभामुखमाथि अविश्वासपछि कडा कदम

User Image Prime TV News १ हप्ता अगाडि
Image of मधेश प्रदेशका पाँच सांसद पदमुक्त, सभामुखमाथि अविश्वासपछि कडा कदम

काठमाडौ । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले एकैपटक पाँच सांसदलाई पदमुक्त गरेका छन्। सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता भएको केही बेरमै उनले यस्तो कडा निर्णय लिएका हुन्।

सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेका सांसदहरूको सदस्यता खारेज गर्दै सूचना जारी गरेका छन्। उक्त सूचनामा जनता समाजवादी पार्टी (जसपा)का चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई संविधानको धारा १८० बमोजिम पदमुक्त गरिएको उल्लेख छ।

पदमुक्त हुने जसपा सांसदहरूमा मनिष कुमार सुमन (सप्तरी), संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह पनि पदमुक्त भएकी छन्।

सभामुखले जारी गरेको सूचनामा भनिएको छ, “नेपालको संविधानको धारा १८० बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहेकाले यी सांसदहरू २०८२ मंसिर २७ गतेदेखि पदमुक्त भएका छन्। त्यसअनुसार उनीहरूको सिट रिक्त भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता भएको दिनमै आएको यो निर्णयले प्रदेशसभामा राजनीतिक तरंग सिर्जना गरेको छ। जसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सभामुखको निर्णयको कानुनी वैधता प्रश्नमा उठाएका छन् भने सभामुख पक्षले भने यो संवैधानिक प्रक्रिया अन्तर्गतको नियमित कार्य भएको दाबी गरेको छ ।