निर्वाचनको कार्यतालिकाका बारे आयोगले गर्यो राजनीतिक दलसंग छलफल

User Image Prime TV News १ हप्ता अगाडि
Image of निर्वाचनको कार्यतालिकाका बारे आयोगले गर्यो राजनीतिक दलसंग छलफल

काठमाडौ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाका बारेमा राजनीतिक दलसंग छलफल गरेको छ ।

बिहीबार आयोगले प्रतिनिधिसभा निर्वाचन तर्फ पहिलो हुने निर्वाचित प्रणाली र समानुपातीक प्रणाली तर्फको निर्वाचन कार्यक्रमको मस्यौदामाथि दलहरुसंग छलफल गरेको हो । त्यस्तै राष्ट्रियसभाको निर्वाचन कार्यतालिकामा समेत दलहरुसंग परामर्श गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिए।

दलहरुसंग छलफल गरेसंगै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकालाई अन्तिम रुप दिएर राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ । त्यसैगरि मतदाता नामावली संकलनदेखि अन्तिम सुची प्रकाशन गर्ने आयोगको कार्यतालिकामाथि पनि दलहरुलाई जानकारी गराइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचनको तयारीका साथै शान्ति सुरक्षा लगाएतका बिषयमा चासो राखेका थिए । छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचनलाई सम्पन्न गर्न आयोगले गरेका कामकारवाहीका बारेमा जानकारी लिएको बताएका थिए ।

नेपाली कम्युनिष्ट पार्टीका नेता मुक्ति प्रधानले तोकिएको समयमा निर्वाचन अनिवार्य हुनुपर्ने भएकाले निर्वाचनको वातावरण बनाउन सुझाव दिएको बताए । त्यस्तै नेमकिपाका नेता प्रेम सुवालले उम्मेद्वारी दर्ता गरेपछि अन्य दलसंग मिलेर पछि उम्मेद्वारी निष्कृय पार्ने दललाई कारवाही गर्नुपर्ने सुझाव दिएका थिए ।

उनले पैसा खर्च गरेर चूनाव जित्ने प्रवृतिलाई निरुत्साहित गर्न समेत आयोगलाई सुझाव दिएको उनले बताए । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ भने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका लागि आयोगले सरोकारवाला निकायसंग निरन्तर परामर्श गरिरहेको छ ।