राष्ट्रिय परिचयपत्रधारी नागरिकका लागि मतदाता नामावली दर्ता प्रक्रिया थप सजिलो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय भएका नागरिकहरूको लागि मतदाता नामावली दर्ता प्रक्रिया सजिलो बनाएको छ।
अब नागरिकले आफूलाई सहज हुने स्थानबाटै अनलाइन फारम भरेपछि, राष्ट्रिय परिचयपत्रमा भएका विवरण स्वतः मतदाता नामावलीमा समावेश हुनेछन्। कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, आयोगले अनलाइनमा प्राप्त विवरणलाई नेशनल आइडी कार्डमा भएका बायोमेट्रिक डेटासँग जोड्ने प्राविधिक व्यवस्था मिलाएको छ।
यसले मतदाता नामावली संकलनलाई थप सहज बनाउने र नागरिकको कार्यालय धाउनुपर्ने झन्झट हटाउने विश्वास लिइएको छ। भण्डारीले भने, “अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक डेटा अनलाइनमा आएको निवेदनसँग जोडेर छानविन गरी नामावली प्रकाशन गर्ने निर्णय गरेका छौँ।
यसले सबै मागलाई सम्बोधन गर्नेछ।” निर्वाचन आयोगले बुधबार रातभर प्राविधिक काम गरेर नयाँ व्यवस्था लागू गरेको थियो। आयोगले राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकलाई अब फोटो खिच्ने, बायोमेट्रिक प्रक्रिया र कार्यालयमा धाउन नपर्ने सुविधा उपलब्ध गराएको छ।
तर, परिचयपत्र नभएका नागरिकले भने अनलाइन फारम भरेर बायोमेट्रिक प्रक्रिया गर्न कार्यालय आउनुपर्ने छ। सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समयसीमा तोकेको छ।













