मिटरब्याज उजुरीका लागि जिल्लास्तरीय संयन्त्र सक्रिय बनाउन गृह मन्त्रालयको परिपत्र
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी गुनासो र उजुरी दर्ता तथा समाधानका लागि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय संयन्त्र सक्रिय बनाउन परिपत्र गरेको छ।
मन्त्रालयका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वा प्रहरी निरीक्षक र जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रतिनिधि रहने गरी उक्त संयन्त्र गठन गरी क्रियाशील बनाइनेछ।
मिटरब्याजसम्बन्धी उजुरीका कामहरू पछिल्लो समयमा निष्क्रिय हुँदै गएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सम्बन्धित निकायलाई पुनः सक्रिय बनाउन निर्देशन दिएका हुन्। मन्त्रालयका उपसचिव प्रेमप्रसाद दाहालले आज जारी गरेको परिपत्रमा भनिएको छ, “केही जिल्लामा आयोगको पदावधि सकिएसँगै संयन्त्र निष्क्रिय बनेको देखिएकोले ती संयन्त्रहरूलाई निरन्तर रूपमा प्रभावकारी ढंगले कार्यसम्पादन गर्न अनुरोध गरिएको छ।”
यसअघि गठन गरिएको पछिल्लो तीन सदस्यीय मिटरब्याज जाँचबुझ आयोगको अध्यक्ष बाबुराम रेग्मी थिए भने सदस्यहरूमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका थिए। २०८१ फागुन २६ गते गठन भएको रेग्मी आयोगले २०८१ चैत्र १३ गतेबाट काम सुरु गरेको थियो।
आयोगको कार्यकाल सकिएपछि धेरै जिल्लामा उजुरी र गुनासो फर्छ्योटका प्रक्रिया रोकिएका थिए। रेग्मी आयोगले हालसम्म ४३ जिल्लाबाट जम्मा ४१ हजार ४०९ वटा उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये ६ हजार ३९३ उजुरी फर्छ्योट भएका छन् भने ३५ हजार १६ उजुरी अझै बाँकी छन्।













