दानबहादुर कार्की बने नेपाल प्रहरीका नयाँ महानिरीक्षक

User Image Prime TV News १ हप्ता अगाडि
Image of दानबहादुर कार्की बने नेपाल प्रहरीका नयाँ महानिरीक्षक

काठमाडौ । नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएसँगै उनले औपचारिक रूपमा प्रहरी संगठनको नेतृत्व सम्हालेका हुन्।

अघिल्ला प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएका थिए। त्यसपछि नेपाल प्रहरीको कमाण्ड नयाँ आईजीपी कार्कीको जिम्मामा आएको हो।

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। नयाँ आईजीपी कार्की इमान्दार, अनुशासित र पेशागत क्षमताका लागि परिचित प्रहरी अधिकृत हुन्। सेवा अवधिभर उनी कुनै ठूलो आर्थिक वा प्रशासनिक विवादमा नपरेका अधिकारीका रूपमा चिनिन्छन्।

डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए भने एसएसपीको रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए। सोही समयमा भुटानी शरणार्थी प्रकरण चर्चामा रहेको थियो।

प्रहरी प्रधान कार्यालयमा मानव स्रोत साधन विभाग प्रमुखको रूपमा कार्यरत रहँदा कार्कीले संगठनभित्र जनशक्ति व्यवस्थापन र सुधारका काममा योगदान दिएका थिए। २४ भदौमा उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका उनले जेनजी आन्दोलनका बेला उपत्यकाको सुरक्षात्मक व्यवस्थापनको जिम्मेवारी पनि वहन गरेका थिए।