जेनजीका माग पूरा नभए निर्वाचन सम्भव छैन : संयोजक सुधन गुरुङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजीका माग पूरा नभए निर्वाचन सम्भव छैन : संयोजक सुधन गुरुङ

काठमाडौ । ‘हामी नेपाल’ संस्थाका संयोजक सुधन गुरुङले जेनजी समूहका मागहरू पूरा नगरी निर्वाचन सम्भव नहुने चेतावनी दिएका छन्।

बिहीबार बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना हटाउने क्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

गुरुङका अनुसार हाल अधिकांश जेनजी सदस्यहरू एउटै ठाउँमा छन्, केही मात्रै अन्यत्र रहेका छन्। उनले भने, “समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ, माग पूरा नभई कसरी चुनाव हुन्छ? यसको जिम्मेवारी गृहमन्त्रीज्यूले लिनुपर्छ।”

उनले जेनजीका माग पूरा नभए अर्को चरणको आन्दोलन सुरु हुने चेतावनी पनि दिए। “यदि मागहरू सम्बोधन भएनन् भने आन्दोलन अपरिहार्य हुन्छ,” गुरुङले भने, “त्यसको जिम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्नेछ।”

गुरुङले गृहमन्त्री अर्यालले हरेक वार्तामा सहभागिता जनाए पनि माग पूरा गर्ने प्रतिबद्धता अनुसार काम नगरेको आरोप लगाए। “उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो, राष्ट्रपति कार्यालयमा मलाई संविधानविद् भनेर चिनाइएको थियो,” उनले भने, “तर अहिले आएर मागहरू बेवास्ता गरेर चुनावको रटान लगाउनु धोका हो।”

गुरुङले जेनजी समूहले अघि सारेका मागहरू पूरा नगरी निर्वाचनतर्फ जाने सरकारी तयारीले असन्तुष्टि बढाएको समेत बताए ।