लैनचौरमा स्काउटको जग्गा फिर्ता: खड्का ल्यान्ड डेभलपमेन्टको संरचनामा महानगरले चलायो डोजर
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाले बिहीबार नेपाल स्काउटको जग्गा ओगटेर राखिएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचना हटाएको छ।
युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा गरिएको उक्त कारबाहीले लामो समयदेखि विवादित लैनचौरस्थित जग्गा फिर्ता हुने बाटो खोलेको छ।
मन्त्रालयका अनुसार स्काउटको स्वामित्वमा रहेको लैनचौरस्थित कित्ता नम्बर १० को करिब ३ रोपनी रैकर जग्गामा खड्का ल्यान्ड डेभलपमेन्टले अवैध रूपमा संरचना निर्माण गरी कब्जा जमाइरहेको थियो।
पटक–पटक ताकेता गर्दा पनि कम्पनीले बक्यौता रकम नतिरेपछि स्काउटले अन्ततः सात दिनको अल्टिमेटम जारी गरेको थियो। समयसीमा सकिएपछि बिहीबार बिहान महानगरले डोजर परिचालन गर्दै उक्त क्षेत्र खाली गराएको हो।
उक्त कम्पनी नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको छ। नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा गरिएको १० वर्षे करार २०७५ सालमै समाप्त भए पनि कम्पनीले जग्गा नछाड्दा विवाद लामो समयदेखि तन्किएको थियो।
उक्त विषयमा उच्च अदालत पाटनले २०७९ असार १३ गते स्काउटको पक्षमा अन्तिम फैसला गरेको थियो। अदालतले कम्पनीको मुद्दा खारेज गर्दै जग्गा अनधिकृत रूपमा प्रयोग भइरहेको ठहर गरेको थियो।
सो निर्णयपछि पनि कम्पनीले फैसला कार्यान्वयन नगरेपछि नेपाल स्काउटले स्थानीय प्रशासन ऐन, २०५२ अनुसार कानुनी प्रक्रिया अघि बढाएर स्थल खाली गराउन पहल गरेको हो ।













