अमेरिकी इतिहासको सबैभन्दा लामो शटडाउन अन्त्यतर्फ, प्रतिनिधि सभाले सहमतिको विधेयक पारित

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकी इतिहासको सबैभन्दा लामो शटडाउन अन्त्यतर्फ, प्रतिनिधि सभाले सहमतिको विधेयक पारित

काठमाडौ । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्यको दिशामा गएको छ। प्रतिनिधि सभाले सरकार पुनः सञ्चालनका लागि सहमतिको विधेयक पारित गरेपछि अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि मात्र त्यसको औपचारिक कार्यान्वयन हुने भएको हो।

बुधबार भएको मतदानमा शटडाउन अन्त्यका पक्षमा २२२ र विपक्षमा २०९ मत परेको थियो । दुई सांसद अनुपस्थित रहेका थिए। अमेरिकी सञ्चारमाध्यम रोयटर्सका अनुसार ह्वाइट हाउसले विधेयक राष्ट्रपति ट्रम्पसमक्ष पठाइसकेको छ र हस्ताक्षरपछि लामो समयदेखि बन्द रहेका सरकारी निकायहरू पुनः सञ्चालनमा आउनेछन्।

अक्टोबर १ देखि करिब १२ लाख ५० हजार संघीय कर्मचारीले तलब पाएका छैनन्। लामो शटडाउनका कारण सयौं हवाई उडान रद्द भएका छन्, सार्वजनिक सेवाहरू ठप्प भएका छन् र खाद्य सहायता तथा ठेक्का प्रक्रिया अवरुद्ध भएका छन्। अर्थतन्त्रमा यसले गहिरो असर पारेको बताइन्छ।

हाल संसदबाट पारित कानुनले सरकारका नियमित काम जनवरीसम्म सञ्चालन गर्न मार्ग प्रशस्त गरे पनि विपक्षी डेमोक्र्याटहरूले माग गरेको स्वास्थ्य बीमा योजनासम्बन्धी कर छुट विस्तार भने यसमा समावेश गरिएको छैन। ‘अफोर्डेबल केयर एक्ट’ अन्तर्गतका छुट निरन्तरता दिने विषयमा सहमति नजुटेकाले आगामी दिनमा पुनः राजनीतिक टकराव बढ्ने संकेत देखिएको छ।

अर्थविश्लेषकहरूले यस सम्झौताले तत्काल प्रशासनिक अवरोध हटाउने भए पनि राजनीतिक अविश्वास र नीति–विवादको जरो अझै उखेलिएको छैन भन्ने टिप्पणी गरेका छन्।