वाम राजनीतिमा फेरि नयाँ गठबन्धनको संकेत, संयुक्त रूपमा चुनावी मैदानमा उत्रिने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of वाम राजनीतिमा फेरि नयाँ गठबन्धनको संकेत, संयुक्त रूपमा चुनावी मैदानमा उत्रिने तयारी

काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा, नेता घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।

बुधबार राजधानीमा बसेको उक्त भेटमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा हालका राजनीतिक समीकरणबारे विस्तृत छलफल भएको हो।

नेता भुसालका अनुसार आगामी चुनावमा तिनै पक्ष सँगसँगै सहभागी हुने समझदारी बनिरहेको छ। "हामी सहकार्यका साथ अघि बढ्ने तयारीमा छौँ," भुसालले बताए। उनका अनुसार भेटघाट र संवादलाई निरन्तरता दिने सहमति पनि भएको छ।

माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित १० दलसँग एकता गरेपछि असन्तुष्ट जनाउँदै जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान निर्माण गरेका हुन्।

सोही एकताप्रति असन्तुष्ट घनश्याम भुसाल समूहले पनि निर्वाचन आयोगमा नेकपा (बामपन्थी केन्द्र) दर्ताका लागि निवेदन दर्ता गरिसकेको छ।