नेप्से परिसूचक घट्यो, कारोबार सामान्य वृद्धि भए पनि बजार दबाबमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बुधबार सेयर बजारमा दबाब कायम रहँदा नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४ मा झरेको छ।
कारोबार सुरुदेखि अन्तिमसम्म परिसूचक निरन्तर घटेको थियो। आजको बजारमा कुल कारोबार रकम ३ अर्ब ८४ करोड पुगेको छ । जुन अघिल्लो दिनको ३ अर्ब ६२ करोडको कारोबारभन्दा सामान्य बढेको हो।
आजको कारोबारमा ४९ कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। उत्पादन समूहमा ०.२३ प्रतिशतले वृद्धि भए पनि अन्य सबै समूहका सूचक घटेका छन्। विशेषगरी व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ। आज चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो। यसमध्ये भूगोल इनर्जी बाहेक बाँकी तीन कम्पनी हालै सूचीबद्ध भएका नयाँ कम्पनी हुन्।
त्यस्तै, अपर सोलु हाइड्रो इलेक्ट्रिकको मूल्य ५.३१% र नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य ३.७५%ले बढेको छ । विपरीत दिशा तर्फ, दरामखोला हाइड्रो इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ८.७२%ले घटेको छ। माबिलुङ इनर्जीको मूल्य ८.२१% र मेरो माइक्रोफाइनान्सको मूल्य ४.५७%ले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन्।













