नेकपा र मातृभूमि जागरण अभियानबीच ऐतिहासिक ७ बुँदे सहमति, भीम रावल नेकपामा समाहित हुने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच ऐतिहासिक ७ बुँदे सहमति भएको छ।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार आजै राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमार्फत रावल नेकपामा समाहित हुनेछन्।
सहमतिका प्रमुख बुँदाहरूमा नेपालको सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र जनताको सर्वोच्च हित कायम राख्ने प्रतिबद्धता, समाजवाद र सामाजिक न्यायको आधारमा आर्थिक-सामाजिक रूपान्तरण, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना, पार्टी दस्तावेज र विधान आपसी सहमतिमा तयार पार्ने र विभिन्न तहमा सदस्यहरूको समायोजन जस्ता विषयहरू समावेश छन्।
साथै, मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलको जिम्मेवारी र पार्टी नेतृत्व सम्बन्धी अन्य विषयहरू पनि आपसी सहमतिमा टुंगो लगाइने सहमति भएको छ। पार्टी सञ्चालनमा लोकतान्त्रिक मान्यता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्त पालन गरिने व्यवस्था पनि स्पष्ट गरिएको छ।
पार्टी एकीकरण प्रक्रिया सहज बनाउन आवश्यकतानुसार विभिन्न तहमा कार्यदल गठन गरिने प्रावधान समेत यस सहमतिमा समावेश गरिएको छ।













