तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको पहल, बुधबार ५० अर्ब निक्षेप तान्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको पहल, बुधबार ५० अर्ब निक्षेप तान्ने

काठमाडौ । बैंकिङ प्रणालीमा थपिँदै गएको तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

दशैं तिहारपछि पनि वित्तीय प्रणालीमा अधिक तरलता रहँदा ब्याजदर नियन्त्रणमा कठिनाइ भएकाले केन्द्रीय बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार हाल देशभरका बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब रुपैयाँभन्दा बढी निक्षेप रहेको छ।

यस्तो अवस्थामा बजार ब्याजदर बढ्न नदिन र तरलता सन्तुलन कायम गर्न बैंकले निक्षेप संकलनको बाटो लिएको हो। बुधबार हुने निक्षेप संकलन बोलकबोल प्रणालीमार्फत सञ्चालन हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

सहभागीहरूले प्रस्ताव गर्ने ब्याजदरका आधारमा निक्षेप बाँडफाँट गरिनेछ। यस पटकको निक्षेप संकलन उपकरणको सावाँ र ब्याज भुक्तानी २०८३ वैशाख २३ गते हुने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन तरलता बढेमा अधिकतम ६ महिनासम्मका लागि संरचनात्मक खुला बजार कारोबारमार्फत यस्तो निक्षेप संकलन गर्न सकिन्छ। केन्द्रीय बैंकले यही प्रावधानका आधारमा पछिल्ला महिनाहरूमा पटक–पटक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।