क्रिस्टियानो रोनाल्डोले घोषणा गरे सन् २०२६ को आफ्नो अन्तिम विश्वकप

User Image Prime TV News १ हप्ता अगाडि
Image of क्रिस्टियानो रोनाल्डोले घोषणा गरे सन् २०२६ को आफ्नो अन्तिम विश्वकप

काठमाडौ । विश्व फुटबलका महानतम स्ट्राइकरमध्ये एक, क्रिस्टियानो रोनाल्डोले अन्ततः आफ्नो अन्तिम विश्वकपको घोषणा गरेका छन्।

साउदी फोरमसँग भिडियो सन्देशमार्फत बोल्दै ४० वर्षीय रोनाल्डोले भने, “यो निश्चित हो, सन् २०२६ मेरो अन्तिम विश्वकप हुनेछ।” रोनाल्डोले थपे, “म ४१ वर्षको हुनलागेको छु र मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिन अब सही समय नजिकिँदैछ।”

रोनाल्डोले आफ्नो करियरमा क्लब र राष्ट्रिय टोलीका तर्फबाट ९५० भन्दा बढी गोल गरेका छन्। उनले पोर्चुगललाई यूरो २०१६ को ऐतिहासिक उपाधि जिताए र २०१९ यूईएफए नेशन्स लिग समेत जिताउन महत्वपूर्ण भूमिका खेले।

विश्व फुटबलमा दुई दशकभन्दा बढी समय आफ्नो फिटनेस, समर्पण र गोल गर्ने क्षमताका कारण रोनाल्डो एक जीवित किंवदन्ती बनेका छन्। उनले पाँच पटक बालोन डि’ओर जित्दै लियोनेल मेस्सीसँगको प्रतिद्वन्द्विताले फुटबल इतिहासलाई अझ रोमाञ्चक बनाएको थियो।

उनको यो घोषणा पछि, विश्वभरका समर्थकहरू सामाजिक सञ्जालमा भावुक सन्देशसहित प्रतिक्रिया जनाइरहेका छन्। सन् २०२६ को विश्वकप अमेरिकामा हुने निश्चित भएको छ । जहाँ रोनाल्डो अन्तिम पटक पोर्चुगलको जर्सीमा देखिनेछन्।