नयाँ मुख्यमन्त्री नियुक्तिपछि मधेश प्रदेशमा राजनीतिक तनाव चुलिदै, सात दलले जारी राखे आन्दोलन

User Image Prime TV News १ हप्ता अगाडि
Image of नयाँ मुख्यमन्त्री नियुक्तिपछि मधेश प्रदेशमा राजनीतिक तनाव चुलिदै, सात दलले जारी राखे आन्दोलन

काठमाडौ । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिपछि उत्पन्न राजनीतिक तनाव चुलिएको छ। नेकपा एमालेका सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाले नियुक्त गरेको आरोप लगाउँदै सात दलले जारी राखेको आन्दोलन बुधबार पनि निरन्तर रहने जनाएको छ । 

मंगलबार राति विज्ञप्ति जारी गर्दै सात दलले मुख्यमन्त्री यादव र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आग्रह गरेका छन्। उनीहरूले कुनै पनि सरकारी, सामाजिक वा सार्वजनिक कार्यक्रममा सहभागी नहुन, नयाँ सरकारलाई वैधानिक मान्यता नदिन र विरोधमा उभिन अपिल गरेका छन्।

सोमबारदेखि विद्रोहको माहोल बनेको जनकपुरधाम आज पनि शान्त हुने सम्भावना कम रहेको छ। सात दलले बिहान ८ः३० बजेदेखि 'विरोध तथा शान्तिपूर्ण आन्दोलन'को घोषणा गर्दै संघर्षमा सघाउन आग्रह गरेका छन्। उनीहरूको भनाइमा संविधान र संघीयताको सुरक्षा तथा लोकतान्त्रिक मूल्य जोगाउन सडकमै उत्रिनुपर्ने परिस्थिति आएको छ।

मंगलबारको आन्दोलनक्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको आरोप सात दलले लगाएका छन्। दमनकारी कार्यको कडा शब्दमा भर्त्सना गर्दै उनीहरूले घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाही माग गरेका छन्। साथै घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

सात दलले पानस रेस्टुरेन्टमा गरिएका शपथ कार्यक्रमलाई नै अपमानजनक र संविधानविपरीत ठहर गर्दै मुख्यमन्त्री यादवसहित नयाँ मन्त्रीहरूलाई सामाजिक रूपमा बहिष्कार गर्न आग्रह गरेका छन्।