यी हुन् सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय

User Image Prime TV News १ हप्ता अगाडि
Image of यी हुन् सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय

काठमाडौ । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। मन्त्री खरेलका अनुसार बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी सरकारले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय सहभागिता र सहयोग

बैठकले भारतको विशाखापट्टनममा आगामी २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३०औँ पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गरेको छ।

त्यस्तै, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया कोर्डिनेसन मिटिङको ९औँ बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ।

यसका अतिरिक्त, विज्ञान प्रविधि सचिव विश्वबाबु पुडासैनीलाई अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने आइएइए स्कुल अन नुक्लियर एन्ड रेडियोलोजिकल लिडरसिप फर सेफ्टी एन्ड फर नुक्लियर सेक्युरिटी कार्यक्रममा सहभागी हुन अनुमति दिइएको छ।

पूर्वाधार, विकास र नीतिगत निर्णय

बैठकले एमसीए नेपालद्वारा निर्माण हुने ४०० केभी विद्युत् प्रसारणलाइन अन्तर्गत पर्ने १० जिल्लामा प्रसारण लाइनको ४६ मिटर चौडाइभित्र संरचना निर्माण र रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ ।

त्यस्तै, भू–उपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ। सरकारले धनकुटा नगरपालिका–७ मा रहेको साविक रेशम खेती विकास कार्यक्रमको २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिएको छ।

स्वास्थ्य र सामाजिक क्षेत्र

सरकारले स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला क्यान्सर अस्पताल, डडेल्धुरा अस्पताल र कान्ति बाल अस्पताल लगायतका संस्थाका लागि आर्थिक वर्ष ०८२/८३ का लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। त्यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बारकोटीको राजीनामा स्वीकृत गरिएको छ।

खेलकुद र अन्य निर्णय

बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्न स्वीकृति दिएको छ।

यसबाहेक, स्याङ्जा जिल्ला प्रशासन कार्यालयको जग्गा क्षतिपूर्तिका लागि जग्गाधनी श्यामप्रसाद श्रेष्ठलाई एक करोड रुपैयाँ उपलब्ध गराउने, जाँचबुझ आयोगमा थप कर्मचारी पठाउने र नेपाली सेना र अफिस अफ डिफेन्स करप्शनबीचको समझदारीपत्रको अवधि दुई वर्ष थप्ने निर्णय पनि गरिएको छ।