युवा संघले देशव्यापी 'युवा जागरण अभियान' सुरु, वडा–वडामा युथ फोर्स गठन गर्दै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले देशभर ‘युवा जागरण अभियान’ सञ्चालन गर्ने र वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ।
संघले पार्टी सुदृढीकरण, युवा परिचालन र जनसुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यसहित अभियान अगाडि बढाउने जनाएको छ। संघका प्रवक्ता निरोज पौड्यालका अनुसार अभियान २७ कात्तिकदेखि १० मंसिरसम्म सातै प्रदेशमा सञ्चालन हुने जानकारी दिए ।
अभियानको संयोजन जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ। संघले तयार पारेको तालिका अनुसार २७ कात्तिकमा लुम्बिनी, १ मंसिरमा बागमती, ३ मंसिरमा मधेश, ४ मंसिरमा कोशी, ८ मंसिरमा गण्डकी, ९ मंसिरमा कर्णाली, र १० मंसिरमा सुदूरपश्चिम प्रदेशमा अभियान सञ्चालन गरिने जनाएको छ।
यसै क्रममा ५ मंसिरमा काठमाडौंमा स्वयंसेवक भेला पनि आयोजना गरिने भएको छ। पौड्यालका अनुसार अभियान अन्तर्गत टोलटोलमा सुरक्षा समिति गठन हुँदै वडा, पालिका र प्रदेशस्तरीय युथ फोर्स निर्माण गर्ने जानकारी दिए ।













