निर्वाचनअघि महाधिवेशनको मिति घोषणा गर्न मीन विश्वकर्माको प्रस्ताव
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले आगामी आम निर्वाचनभन्दा अघि नै १५औं महाधिवेशनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन् ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले महाधिवेशन र निर्वाचन दुवैलाई समान रूपमा महत्त्व दिँदै, “दुवै तोकिएको समयमा हुन जरुरी छ, छलफल र बहसमा अल्झिएर समय बर्बाद नगरौँ,” भन्ने धारणा राखे।
विश्वकर्माले पार्टीलाई सुदृढ बनाउने तथा निर्वाचन तयारीलाई व्यवस्थित गर्ने उद्देश्यले महाधिवेशनको माध्यमबाट संगठनात्मक रूपान्तरण सुरु गर्नुपर्ने बताए। उनले निर्वाचनभन्दा अघि नै केन्द्रीय महाधिवेशनको मिति सार्वजनिक गरी, त्यसअनुसार सबै तहका अधिवेशनको तालिका पनि एकसाथ घोषणा गर्नुपर्ने धारणा राखेका छन् ।
“महाधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्त्वका कार्य हुन्,” उनले भने, “यदि केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा विशेष महाधिवेशन गर्ने निर्णय गर्न सक्छ भने ठीकै हो, नभए नियमित अधिवेशन नै गर्नुपर्छ। अन्यथा पार्टी सहज अवस्थामा रहँदैन।” उनले नियमित अधिवेशनले पार्टीभित्र रूपान्तरण ल्याउनेछ भने आम निर्वाचनले जनतामा नयाँ आशा जगाउने उल्लेख गरे ।













