ओलीप्रति असन्तुष्ट एमाले नेता प्रकाश शाह नेकपामा प्रवेश गर्न तयारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रुखो बोली र स्वेच्छाचारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने तयारी गरेका छन्। शाह बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुने कार्यक्रममा औपचारिक रूपमा नेकपामा प्रवेश गर्ने जनाइएको छ।
शाहले ओलीको पछिल्लो नेतृत्वशैलीले पार्टीभित्रको लोकतान्त्रिक संस्कृतिलाई समाप्त पार्ने जोखिम बढाएको भन्दै कडा शब्दमा आलोचना गरेका छन्। उनले भने, “एघारौं महाधिवेशनमा छलफल नै नहुने र अध्यक्षको निर्देशनपछि कार्यक्रम समापन हुने भनाइले जबजको चीरहरण गर्ने मनसाय झल्काउँछ।”
पूर्वमन्त्री समेत रहेका शाहले ओलीको प्रधानमन्त्रीकालका विभिन्न घटनालाई पनि निशाना बनाउँदै भने, “उहाँको शासनकालमा स्कुले बालबालिका र युवाको हत्या भयो। राष्ट्रिय धरोहरहरू नष्ट भए। प्रधानमन्त्रीको जिम्मेवारी जनताको सुरक्षा र सम्पत्ति रक्षा हो, तर उहाँको प्राथमिकता व्यापारिक घरानाको हित जोगाउनेतर्फ सीमित रह्यो।”
उनले ओलीको शासनशैलीलाई “स्वेच्छाचारी र निरंकुश प्रवृत्ति” को संज्ञा दिँदै इमान, जिम्मेवारी र जवाफदेहिताको अभाव भएको आरोप लगाए। शाहले ओलीभन्दा बढी नैतिकता पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले देखाएको उल्लेख गर्दै भने,“सिंहदरबारमा आगलागी हुँदा विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए, तर ओलीले हत्या र अव्यवस्थाको जिम्मेवारी लिने कुनै चिन्ह देखाएनन्।”
उनका अनुसार ओलीका पछिल्ला अभिव्यक्तिहरू देशलाई “संकट र मुठभेडतर्फ धकेल्ने” खालका छन्। शाह पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य थिए।
उनले त्यही कार्यकालमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिलाका मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। विद्यार्थी राजनीति हुँदै एमालेमा प्रवेश गरेका शाह अनेरास्ववियुको बाजुरा अध्यक्षदेखि एमाले जिल्ला कमिटी अध्यक्ष र दुईपटक केन्द्रीय सदस्यसमेत बनेका थिए ।













