राष्ट्रपति पौडेलद्वारा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार सुवेदीलाई पदबाट हटाएका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा विज्ञप्ती अनुसार संविधानको धारा १६५ को उपधारा (१)(ख) बमोजिम सुवेदीलाई पदमुक्त गरिएको हो। यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही बैठकले सुवेदीको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ। सुवेदी पछिल्ला दिनमा विवादमा परेकी थिइन्। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति देखेपछि कात्तिक २२ गते प्रदेश सभामा राजीनामा दिएका थिए।
त्यसपछि सुवेदीले सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका नेता सरोजकुमार यादवलाई होटलमा लगेर मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताउँदै निस्किएकी सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा नै यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी थिइन्।
उक्त घटनाले उनीमाथि संवैधानिक र राजनीतिक दुवै किसिमको विवाद निम्त्यायो।













