जनपरिचालन अभियानअन्तर्गत सबै स्थानीय तहमा जनप्रदर्शन गर्दै एमाले
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले देशव्यापी जनपरिचालन अभियानअन्तर्गत आज देशका सबै ७५३ स्थानीय तहमा जनप्रदर्शन कार्यक्रम सञ्चालन गरिरहेको छ।
पार्टीले हालको राजनीतिक परिस्थितिलाई ‘प्रतिगामी षड्यन्त्र’को रूपमा मूल्यांकन गर्दै वडादेखि राष्ट्रिय स्तरसम्म प्रदर्शनको श्रृंखला अघि बढाएको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशभरका ६ हजार ७ सय ४३ वडामा वडा भेला सम्पन्न भइसकेका छन्।
ती भेलाका क्रममा भदौ २४ पछि उत्पन्न राजनीतिक घटनाक्रम, संसद विघटनको मुद्दा र पार्टीको आगामी योजना तथा रणनीतिबारे कार्यकर्तालाई जानकारी गराइएको थियो।
आजका जनप्रदर्शनमा केही पालिकाले मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गरिरहेका छन् भने धेरै स्थानमा नारा जुलुस र कोणसभा सहितका कार्यक्रम आयोजना गरिएको छ।
सहभागीले एमालेको झण्डा सहित प्रदर्शनमा सहभागी हुनुपर्ने र घना बस्ती भएका ठाउँमा कार्यक्रम सञ्चालन गर्ने निर्देशन पार्टीले दिएको छ।
एमालेले जनप्रदर्शनका तस्बिर, भिडियो र मुख्य सन्देश सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत व्यापक प्रचार–प्रसार गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।













