कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिनपछि आज पुनः बस्ने भएको छ।
पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताब आलमको निधनका कारण आइतबार र सोमबार स्थगित भएको बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले लामो समयदेखि छलफल भइरहेका विषयलाई निरन्तरता दिनेछ।
गत असोज २८ गतेदेखि जारी बैठकमा कांग्रेसको १५औँ महाधिवेशनको मिति र तयारीबारे मुख्य एजेन्डा रहेको छ। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूबीच फरक मत देखिँदै आएको छ, जसका कारण निर्णयमा ढिलाइ भइरहेको छ।
मुख्यगरी कांग्रेस भित्र निर्वाचन अघि पार्टीको महाधिवेशन कि निर्वाचन पछि भन्ने विवाद छ । निर्वाचन अघि नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनका हुनुपर्ने आवाज समेत उठेको छ ।












