मधेश प्रदेशकी प्रदेश प्रमुख भण्डारी बर्खास्त, सुरेन्द्रलाल कर्णको नाम सिफारिस
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मधेश प्रदेशको राजनीतिक घटनाक्रम चुलिँदै जाँदा संघीय सरकारले प्रदेश प्रमुख सुमीत्रा भण्डारीलाई पदबाट बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हटाई सुरेन्द्रलाल कर्णलाई नयाँ प्रदेश प्रमुखको रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। अब राष्ट्रपति रामचन्द्र पौडेलले कर्णलाई औपचारिक नियुक्ति गर्नेछन्।
भण्डारीले सोमबार बिहानै असामान्य ढंगले सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि विवाद तीव्र भएको थियो।
उनले मुख्यमन्त्री दाबीका लागि औपचारिक आह्वान नगरी महोत्तरीको बर्दिवासस्थित पानस होटलमै यादवलाई शपथ खुवाएकी थिइन्। भण्डारीले यादवलाई ठूलो दलको नेता भएकाले नियुक्त गरेको दाबी गरेकी थिइन्।
तर भण्डारीको कदमलाई सातदलीय गठबन्धनले असंवैधानिक र प्रक्रिया विपरीत भन्दै आपत्ति जनाएको छ। नेपाली कांग्रेससहितका दलहरूले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्दै विरोध जनाएका छन्।
यसैबीच, मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ। रिटमा प्रदेश सरकार गठन प्रक्रियालाई अवैध घोषित गरी मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ।













