मधेश प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

User Image Prime TV News १ हप्ता अगाडि
Image of मधेश प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौ । मधेश प्रदेशमा संविधानको धारा १६८(३) बमोजिम गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। रिट दायर गर्नेमा रक्कीप्रसाद साह र सुजित यादव रहेका छन्।

रिटमा मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभा लाई विपक्षी बनाइएको छ। दुवै रिट निवेदकले संविधानको धारा १६८(२) अनुसारको सरकार अझै कानूनी रूपमा कायम रहेका बेला उपधारा (३) प्रयोग गरी नयाँ सरकार गठन गर्नु असंवैधानिक कदम भएको दाबी गरेका छन् ।

रिट निवेदकहरूले सर्वोच्च अदालतसँग उक्त सरकार गठनलाई बदर गर्न माग गरेका छन्। धारा १६८(२) अन्तर्गतको सरकारको सम्भावना समाप्त नभई रहँदा प्रदेश प्रमुखले उपधारा (३) अनुसार सरकार गठन गर्न नमिल्ने स्पष्ट संवैधानिक व्यवस्था छ।

मधेश प्रदेशमा पछिल्ला राजनीतिक घटनाक्रमपछि प्रदेश प्रमुखले उपधारा (३) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए। त्यसपछि बनेको सरकार अब अदालतको निर्णयमा निर्भर हुने देखिन्छ।