राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारका लागि आवेदन खुला

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारका लागि आवेदन खुला

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको उम्मेदवारीका लागि आवेदन खुला गरेको छ। पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार, इच्छुक उम्मेदवारले अनलाइन वा पार्टी कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।

रास्वपाले प्रत्यक्ष उम्मेदवार छनोटमा २५ हजार रुपैयाँ शुल्क लिने गरेको थियो भने, यसपटक समानुपातिक उम्मेदवारका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। तर, आचार्यले स्पष्ट पारे कि शुल्क तिर्न नसक्ने उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।

उनीहरूले विवरण खुलाएर निवेदन गरेपछि पार्टीले शुल्क नलिई पनि आवेदन स्वीकार गर्न सक्नेछ। पार्टीले बुझाइएको रकम उम्मेदवार चयन नहुँदा फिर्ता नहुने समेत जनाएको छ। आवेदन पर्नासाथ पार्टीले विभिन्न मापदण्ड अनुसार उम्मेदवारको छनोट गर्नेछ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिक उम्मेदवारको बन्द सूची यहि पुस १८ र १९ गते तयार पारिने रास्वपाले जनाएको छ । यसअघि रुपन्देहीमा प्रत्यक्ष उम्मेदवार छनोटका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको थियो, तर निर्वाचन हुन सकेन। हाल आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय गरिएको छ।