निर्वाचन आयोगले पूर्वपदाधिकारीसँग परामर्श

User Image Prime TV News १ हप्ता अगाडि
Image of निर्वाचन आयोगले पूर्वपदाधिकारीसँग परामर्श

काठमाडौ । आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी बनाउन निर्वाचन आयोगले आज पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा विगतका निर्वाचन व्यवस्थापनका अनुभव र चुनौतीको विश्लेषण गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकमा आयुक्त सगुनशम्शेर जबरा, डा जानकी तुलाधर, पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ र आयोगका पूर्वसचिव मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी थिए।

आयोगका सचिव महादेव पन्थले निर्वाचन समयमै सम्पन्न गर्न आयोगका कार्यालयमा रिक्त पद पूर्ति भइसकेको जानकारी दिँदै सुरक्षा व्यवस्थापनका लागि सुरक्षा संगठनसँग समन्वय भइरहेको बताए। उनले भने, "अनुभव आदानप्रदानले निर्वाचन व्यवस्थापनमा सुधार र नवीन सोच अघि बढाउन प्रेरणा दिने भएकाले पूर्वपदाधिकारीको ज्ञान र अनुभव महत्वपूर्ण हुन्छ।"

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ र राष्ट्रियसभाको निर्वाचन माघ ११ मा हुँदैछ। हालसम्म १२५ दल दर्ता भइसकेको छ भने केही दल दर्तामा प्रक्रियामा रहेको आयोगले जनाएको छ। बैठकमा आयोगले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुकूल वातावरण निर्माणका लागि ध्यान दिनुपर्ने सुझाब विज्ञहरुले दिएका छन् ।