संसद पुर्नस्थापना वा निर्वाचन ? नेपाली कांग्रेसभित्र मतभेद चर्कियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of संसद पुर्नस्थापना वा निर्वाचन ? नेपाली कांग्रेसभित्र मतभेद चर्कियो

काठमाडौ । प्रतिनिधिसभा पुर्नस्थापनाको विषयमा नेपाली कांग्रेसभित्र गहिरो मतभेद सार्वजनिक रूपमा सतहमा आएको छ। भदौ २७ गते सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि पार्टीले विघटित संसद पुर्नस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेपछि आन्तरिक असन्तुलन बढेको हो।

कांग्रेसका पूर्व प्रमुख सचेतक श्याम घिमिरेले सिंगापुरमा रहेका सभापति शेरबहादुर देउवाको निर्देशनमा आइतबारदेखि हस्ताक्षर अभियान अघि बढाएका छन्। यस अभियानमा कांग्रेससँगै नेकपा एमाले पनि संसद् फर्काउने पक्षमा देखिएको छ।

तर, कांग्रेसका महामन्त्री गगन थापाले भने यो कदमप्रति खुला असहमति जनाउँदै निर्धारित मितिमा निर्वाचनमै जानु पर्ने अडान लिएका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत लेखेका छन्, “फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही बाटोमा ल्याउने यही एक मात्र उपाय हो, यसमा कुनै अलमल छैन।”

थापाले प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा पनि कांग्रेसको तर्फबाट यही धारणा प्रस्तुत गरिएको बताए। उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि निर्वाचनमै जाने भएको जनाएका छन् ।

उनले थपे, “अहिले भइरहेको अलमल पार्टीको अधिवेशनसँग सम्बन्धित हो, फागुन २१ को निर्वाचनसँग होइन। महाधिवेशनबाट आउने नेतृत्व र नीति नै कांग्रेसलाई आगामी निर्वाचनमा सशक्त बनाउनेछ।”

पार्टीभित्र यस विषयले दुई ध्रुवीय अवस्था सिर्जना गरेको छ । देउवा नेतृत्वको संस्थापन पक्ष संसद पुर्नस्थापनाको प्रयासमा जुटेको छ भने थापा नेतृत्वको इतर पक्ष निर्वाचनलाई संविधानसम्मत बाटो ठान्दै त्यसकै तयारीमा जोड दिइरहेको छ।