मधेशमा नयाँ राजनीतिक विवाद : मुख्यमन्त्री नियुक्त भएसंगै विपक्षी सात दल आन्दोलनमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of मधेशमा नयाँ राजनीतिक विवाद : मुख्यमन्त्री नियुक्त भएसंगै विपक्षी सात दल आन्दोलनमा

काठमाडौ । मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्य मन्त्री नियुक्ती स‌गै अन्य दलहरूले असंवैधानिक भन्दै अदालत र सडक दुबै मार्गबाट प्रतिवाद गर्ने घोषणा गरेका छन्।

शपथपछि एमाले बाहेकका सात दलको बैठक आज विहान निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलको निवासमा बसेको थियो । बैठकले प्रदेश प्रमुखको कदमलाई “संविधानको मर्मविपरीत” भन्दै कानुनी उपचारसँगै आन्दोलनमा जाने निर्णय गरेको हो ।

बैठकपछि सोनलले पत्रकारहरूसँग भने, “यो मधेशी जनताको अस्मिता र मानमर्यादासँग खेलबाड हो। हामी अदालत पनि जानेछौं र जनताको बीचमा पनि जान्छौं।” मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदैछु भन्दै जनकपुरबाट प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले अप्रत्याशित रूपमा बर्दिबास पुगेर उनले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । 

लोसपाका जितेन्द्र सोनल असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनले कात्तिक २२ गते विश्वासको मत लिनुअघि नै राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान नगरेपछि राजनीतिक अनिश्चितता उत्पन्न भएको थियो।

संविधानको धारा १६८ को उपधारा (२) ले गठबन्धन वा बहुमतको समर्थन प्राप्त दलबाट सरकार गठन गर्न सकिने व्यवस्था गर्छ, जबकि उपधारा (३) ले यस्तो प्रयास असफल भएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री बनाउन सकिने प्रावधान राख्छ।प्रदेश प्रमुखले आफ्नो अधिकार प्रयोग गरेर ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी छन्। यसै बुँदामा विवाद चर्किएको हो ।