मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौः सीके राउत
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएसँगै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्ने कुरा उठाएका छन्।
उनले मधेशी जनताको आफ्नै शासन र स्वायत्तता सुनिश्चित गर्न ‘‘स्वायत्तता आन्दोलन’’को आह्वान गरेका छन्। फेसबुकमार्फत आफूले व्यक्त गरेको विचारमा, डा. राउतले भने, ‘‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। अब मधेश प्रदेशको स्वायत्तताको घोषणा गर्नु अत्यन्त जरूरी छ।’’
उनले नेपाली शासनको दमन र औपनिवेशिक नीतिका बिरुद्ध संघर्ष जारी राख्ने सन्देश दिएका छन्। मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादव नियुक्त भए पछि मधेशी नेताहरू र समर्थकबाट व्यापक आलोचना भइरहेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासको एक होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेशी पार्टीहरूले यो प्रक्रिया असंवैधानिक र अन्यायपूर्ण रहेको बताएका छन्।
डा. राउतले यथास्थिति खारिज गर्दै मधेश प्रदेश सभाको बैठकलाई सडकमा डाकेर स्वायत्तताको घोषणा गर्न आग्रह गरेका छन्। ‘‘यदि संविधान र संघीय व्यवस्थाले हामीलाई सम्मान गर्न सक्दैन भने हामी सडकमा उत्रेर स्वायत्तता घोषणा गर्नेछौं,’’ राउतले स्पष्ट पारे।













