डा. भट्टराईको टिप्पणी: अक्षरको विवादमा अल्झिने होइन, विश्व बदलिँदै छ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका वाम दलहरू आज पनि पुरानै भाषिक र शाब्दिक विवादमा अड्किएको बताएका छन्।
उनले विश्व चौथो औद्योगिक क्रान्तिको दिशातर्फ अघि बढिरहेको अवस्थामा नेपाली कम्युनिस्टहरू अक्षरको झगडामा सीमित रहनु राष्ट्रका लागि घातक हुने चेतावनी दिएका हुन्।
भट्टराईले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै भनेका छन्, “हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो भन्ने अन्तहीन विवादमा बित्यो। गुरूहरू अझै नेतृत्वमै छन्।” उनले अबको पुस्तासमेत “अ कार कि ई कार” को बहसमा फसेर समय र सम्भावना दुवै नबर्बाद गर्न अनुरोध गरे।
उनका अनुसार देशमा लाखौँ बेरोजगार युवाहरू विदेशिने क्रम बढिरहेको, श्रम निर्यात र वस्तु आयातको दुष्चक्र झनै मजबुत बन्दै गएको छ। यस्ता अवस्थामा बिनार्थको पार्टी नाम, अक्षर र प्रतीक सम्बन्धी विवाद श्रमिक वर्गको भावनासँग ठट्टा गर्ने व्यवहार भएको उनको टिप्पणी छ।
भट्टराईले मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादको गहिरो अध्ययन र पछिल्लो वैज्ञानिक–प्रविधिक विकाससँग तालमेल मिलाएर विचार निर्माण गर्नुपर्ने उल्लेख गरे।
उनले डिजिटल परिवर्तन, जेनेटिक प्रविधि, नानो प्रविधि र कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिले जन्माएको विश्व परिवेशमा नेपाल अझै पहिलो औद्योगिक क्रान्तिको चरणमै अड्किएर बसेको बताए।
हालैको ‘जेन–जी’ आन्दोलनलाई उदाहरण दिँदै उनले नयाँ पुस्ताको सोच, आकांक्षा र विद्रोहलाई बुझ्न राजनीतिक दलहरू असफल भइरहेको जिकिर गरे ।













