रामकुमारी झाँक्री एमाले प्रवेश गर्दै, ‘घर फर्क’ अभियानमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी नेतृ रामकुमारी झाँक्री आज औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गर्न तयारीमा छिन्।
एमालेले राजधानीको राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान घोषणासभा’मा झाँक्री सहभागी हुँदै पार्टी प्रवेश गर्ने बताइएको छ ।
झाँक्रीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै, आफू कम्युनिस्ट आन्दोलनको “मूल प्रवाह” एमालेमा फर्किन लागेको स्पष्ट संकेत दिएकी छन्।
उनले लेखेकी छन्, “यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो।”
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि नै पार्टीबाट छुटिएका सबै नेता तथा कार्यकर्तालाई फर्किन आह्वान गर्दै ‘घर फर्क’ अभियान सार्वजनिक गरेका थिए।
एकीकृत समाजवादी गठन प्रक्रियाप्रति असन्तुष्ट रहेकी झाँक्री माधवकुमार नेपालको नेतृत्वप्रति खुलेर असहमति व्यक्त गर्दै आएकी थिइन्। विशेषतः एकीकृत समाजवादीले माओवादी केन्द्रसहित एकता र सहकार्यको मार्ग रोजेपछि झाँक्री पार्टीभित्रै आलोचनात्मक धारमा उभिएकी थिइन्।
आजको प्रवेश कार्यक्रमसँगै एमालेभित्र झाँक्रीको भूमिकाले कस्तो रूप लिन्छ भन्ने राजनीतिक वृत्तमा चासो बढेको छ। किन कि झाँक्री कुनै बेला ओलीको कडा आलोचना गरेकी थिइन् । तत्कालिन नेकपा विभाजन पछि झाँक्री एकीकृत समाजवादी पार्टीमा गएकी थिइन् ।













