चिकित्सा शिक्षा सुधारकोलागि डा. केसीको दबावः विवादास्पद निर्णयहरू फिर्ता लिन सरकारसँग माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग चिकित्सा शिक्षा क्षेत्रका विवादास्पद निर्णयहरू तत्काल फिर्ता लिनको लागि आग्रह गरेका छन्।
आइतबार, उनले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर, मेडिकल कलेजका सिटहरूको व्यापारिककरण र राजनीतिक स्वार्थको आधारमा गरिएको निर्णयहरूलाई आलोचना गर्दै ती निर्णयहरूलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।
भेटमा डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी र प्रा. डा. जगदीशप्रसाद अग्रवाल पनि उपस्थित थिए। यस अवसरमा डा. केसीले प्रधानमन्त्री कार्कीलाई एक १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा स्वास्थ्य र चिकित्सा शिक्षा सुधार, सुशासन, र सामाजिक न्यायका लागि महत्वपूर्ण सुझावहरू समावेश गरिएको छ । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झा पनि उपस्थित थिए।
छलफलमा डा. केसीले विगतका सरकारका निर्णयहरूको आलोचना गर्दै, चिकित्सा शिक्षा क्षेत्रमा भएका गलत निर्णयहरू सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
डाक्टर केसीले बुझाएको ज्ञापन पत्रमा आयोगमा राजनीतिक हस्तक्षेपका कारण गरिएको सिट सीमा हेरफेर लगायतका निर्णयहरू सच्याउनका लागि स्वायत्तता पुनर्स्थापना गर्नुपर्ने, गेटा मेडिकल विश्वविद्यालयमा कुनै दल वा स्वार्थ समूहको प्रभुत्व नभई योग्य र निष्पक्ष नेतृत्वको चयन गर्ने, अस्पताल सेवा विस्तार र एमबीबीएस कार्यक्रमलाई अघि बढाउनुपर्ने, चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा निर्वाह भत्तालाई नेपाल सरकारको आठौं तह सरह बनाउने, जसले चिकित्सा विद्यार्थीलाई प्रोत्साहन र जीवनस्तरको सुधार ल्याउन सघाउ पुर्याउनु पर्ने लगाएतका सुझाबहरु रहेका छन् ।













