काठमाडौँ महानगरपालिकाले खुला ठाउँमा फोहर र प्लास्टिक बाल्न रोक लगायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of काठमाडौँ महानगरपालिकाले खुला ठाउँमा फोहर र प्लास्टिक बाल्न रोक लगायो

काठमाडौ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र अन्य फोहर बाल्न प्रतिबन्ध लगाएको छ।

विभागका प्रमुख सरिता राईका अनुसार, चिसोको मौसमसँगै यसरी फोहर र प्लास्टिक बाल्ने प्रवृत्ति बढेको देखिएको र यसले वायु प्रदूषणको स्तरलाई थप खतरनाक बनाउने गरेको बताइन् । विभागका अनुसार, जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषण खतरनाक स्तरमा पुग्ने गरेको छ ।

प्रदूषणको मुख्य कारणहरूमा खुला ठाउँमा फोहर र प्लास्टिक बाल्ने गतिविधि प्रमुख रहेको र यसले वायुमण्डलमा धुवाँको उत्सर्जन वढाउनुका साथै  स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने सम्भावना रहने वताइएको छ । "जनस्वास्थ्य र वातावरणको संरक्षण गर्न यस निर्णय गरिएको हो। यसले वायु प्रदूषण कम गर्न र स्वास्थ्यका खतरनाक जोखिमहरूबाट सहरवासीलाई जोगाउन मद्दत पुर्याउनेछ," सरिता राईले भनिन्।

वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्ध नागरिक, दम र श्वासप्रश्वासका समस्या भएका व्यक्तिहरू र दीर्घ रोगीलाई बढी असर गर्ने गरेपनि चिकित्सकहरुले वताउदै आएका छन् । यसै कारण, काठमाडौँ महानगरपालिकाले वातावरणको संरक्षणका लागि कडा कदम चाल्ने निर्णय गरेको हो ।

महानगरपालिकाले कसैले यो प्रतिबन्धको उल्लंघन गरे भने काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ अनुसार कारबाही गरिने जनाएको छ ।