विद्युत व्यवस्थापन सम्झौतामा भ्रम फैलाइयोः कुलमान घिसिङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of विद्युत व्यवस्थापन सम्झौतामा भ्रम फैलाइयोः कुलमान घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे फैलाइएको भ्रमलाई अस्वीकार गरेका छन्। मन्त्री घिसिङले यो निर्णय राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा लिइएको र यसमा कुनै व्यक्तिगत स्वार्थ वा नाजायज कारण नभएको वताएका छन् ।

आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामीले भारतीय कम्पनी पीटीसीसँग गरेको सम्झौतामा कुनै पनि प्रकारको भ्रष्टाचार वा अनियमितता भएको छैन। यो निर्णय राष्ट्र र प्राधिकरणको हितमा लिइएको हो। हिउँदयाममा विद्युत् आपूर्ति सुनिश्चित गर्न यो कदम आवश्यक थियो, र यसले महँगो विद्युत् आयातको आवश्यकता हटाएको छ।”

उनले नेपालको विद्युत् आपूर्ति नदी प्रवाहमा आधारित र वर्षायाममा जलाशयको पानीको प्रवाह बढी हुने कारण विद्युत् निर्यात गर्न सम्भव हुने र सुक्खायाममा पानीको प्रवाह घट्ने भएकाले विद्युत् आयात गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् ।

"हामीले प्रत्येक कदम पारदर्शी प्रक्रियाबाट तय गरेका छौं, जसले हिउँदयाममा विद्युत् आपूर्ति स्थिर राख्नमा मद्दत पुर्याउँछ। यदि यो निर्णय समयमै नचालिएको भए, हामीलाई महँगो विकल्प अपनाउनुपर्ने थियो," उनले भने ।

यसअघि शनिबार नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनीसँगको विद्युत् खरिद सम्झौतामा अनियमितता भएको भन्ने समाचारको खण्डन गर्दै सबै प्रक्रिया नियम अनुसार भएको बताएको छ । प्राधिकरणका अनुसार, सम्झौतामा पारदर्शिता कायम राखिएको र यसका लागि नियमन आयोगबाट स्वीकृति प्राप्त गरिएको जनाएको छ ।