जेनजी मुभमेन्ट अलायन्सले सुकुम्वासी बस्ती हटाउने तयारी तत्काल रोक्न माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । ‘जेनजी मुभमेन्ट अलायन्स’ले काठमाडौँ महानगरपालिकालाई सुकुम्वासी बस्ती हटाउने तयारी तत्काल रोक्न माग गरेको छ।
महानगरले फेरि बस्ती हटाउने संकेत दिएपछि अलायन्सले विज्ञप्ती जारी गर्दै बिनासहमति, बिनापुनर्वास डोजर चलाउने प्रयासलाई कानुनी र नैतिक मान्यताविरुद्ध भनेको छ।
अलायन्सका अनुसार नेपालमा हजारौँ नागरिक ऐतिहासिक विभेद, दण्डहीनता र नीतिगत कमजोरीका कारण भूमिहीन बन्न बाध्य भएका छन्। “विस्थापितहरूको पीडा नबुझी राज्यसत्ता दुरुपयोग गरेर बस्ती हटाउने खेल दोहोरिन लाग्नु गम्भीर निराशाजनक हो,” विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, काठमाडौँका मेयर बालेन्द्र शाहले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्ने अभियान थामिने नसक्ने धारणा सार्वजनिक गर्दै आएका छन्। उनका अनुसार सार्वजनिक भूमिमा अवैध संरचना नराखिने नीति नै कायम रहनेछ।
जेनजी अलायन्सले भने अधिकार र सुरक्षा बिना भएकाहरूलाई सडकमा फालिनु नपर्ने तर्क प्रस्तुत गर्दै, बस्ती व्यवस्थापनका लागि महानगरले सम्बद्ध समुदायसँग सम्झौता गर्नुपर्ने माग दोहोर्याएको छ।
“कागजमै सीमित पुनर्वास योजनाले जनताको जीवन चकनाचुर हुन्छ। पारदर्शी तथ्यांक, वैध पहिचान र उचित बासस्थानको सुनिश्चितता बिना कारबाही स्वीकार्य छैन,” विज्ञप्तिमा भनिएको छ।
अलायन्सले हाल महानगर क्षेत्रका सबै सुकुमबासी बस्तीको तथ्यांक सार्वजनिक गर्न, पुनर्वासको खाका पेस गर्न र स्थानीय नागरिकसँग संयुक्त छलफलमा बस्न आग्रह गरेको छ।













