रास्वपाको चितवन बैठक सम्पन्न: निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन माग

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाको चितवन बैठक सम्पन्न: निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन माग

काठमाडौ । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनलाई पार्टीको अस्तित्व र विस्तारको निर्णायक मोडका रूपमा चित्रण गरेको छ।

दुई दिनसम्म चलेको बैठकमा देशभरका करिब ४ सय प्रतिनिधिले राजनीतिक परिस्थिति, जनजीविका, संगठन सुदृढीकरण र उम्मेदवार छनोट प्रणालीबारे धारणा राखेका थिए ।

बैठकमले पार्टीको चुनावी वाचा पत्रलाई व्यवस्थित, मापनयोग्य र जनसेवामुखी बनाउने निर्णय गरेको छ । पार्टी नेतृत्वले पारदर्शिता, मेरिट आधारित उम्मेदवार छनोट र भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता नीतिलाई केन्द्रमा राख्दै खुलेर अभियान चलाउने निर्णय बैठकले पारित गरेको छ ।

देशमा फैलिएको निराशा, भ्रष्टाचार र पुरानो राजनीतिक अभ्यासप्रति असन्तोषको लहरलाई रास्वपाले आफ्नो ऊर्जा र अवसरका रूपमा चित्रण गरेको छ।

सभापति रवि लामिछानेमाथि दायर मुद्दालाई बैठकले राजनीतिक प्रतिशोधको परिणामको रूपमा व्याख्या गर्दै न्यायिक प्रक्रियामा द्रुतता र निष्पक्षता मागेको छ।

युवा र प्रवासी नेपालीलाई समानुपातिक सूचिमा प्राथमिकता दिने, २०७९ मा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई पुनः टिकट नदिने, पारदर्शी आर्थिक रिपोर्टिङ र वैध वैवाहिक अवस्था अनिवार्य गर्ने निर्णय गरेको छ ।

फागुन २१ गते तय भएको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सरकारले कानुनी र सुरक्षात्मक तयारीमा ध्यान दिनुपर्ने र विदेशस्थित नेपाली नागरिकलाई मतदानको सुविधा उपलब्ध गराउनुपर्ने माग रास्वपाले गरेको छ ।