राष्ट्रिय सभामा विचाराधिन विधेयक छलफलकालागि अघि वढाउँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा विघटनपछि संघीय संसदमा दर्ता भएका ३० वटा विधेयक निष्क्रिय बनेका छन्। तीमध्ये ७ वटा राष्ट्रिय सभाबाट उत्पत्ति भएका र बाँकी २३ वटा प्रतिनिधि सभामा पेस भएका विधेयक थिए।
प्रतिनिधि सभा विघटनसँगै संसदको प्रक्रिया रोकिएपछि सबै विधेयक कानुनीरूपमा थन्किएका हुन्। तर राष्ट्रिय सभामा भने पाँच विधेयक अझै विचाराधीन अवस्थामा रहेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित भई सभामा पुगेको छ भने अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयक सैद्धान्तिक छलफलपछि समितिमा पठिन बाँकी छ।
त्यस्तै पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमा दफावार छलफल गर्ने तयारी समितिले गरेको छ। यसबीच सरकारले वैकल्पिक वित्त परिचालन कोष स्थापना सम्बन्धी एक नयाँ विधेयक संसदमा पठाएको छ।
सो विधेयकलाई कुन सदनबाट अघि बढाउने भन्ने प्रक्रिया चलिरहेको सचिव गिरीले बताए। साथै सरकारद्वारा जारी मतदाता नामावली सम्बन्धी अध्यादेश पनि राष्ट्रिय सभामा प्रस्तुत गर्ने तयारी भएको छ।
राजनीतिक अस्थिरता जारी रहेकाले प्रतिनिधि सभा मात्र होइन, राष्ट्रिय सभाको बैठक समेत अवरुद्ध छ। संसद भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि बैठकको स्थानसमेत संकटमा परेपछि सिंहदरबारस्थित कृषि समिति हललाई अस्थायी वैकल्पिक स्थलका रूपमा तयारी गरिएको छ।
समितिहरू भने नियमितजस्तै बसेका छन् र आगामी दिनमा विधेयकहरूको छलफललाई तीव्रता दिने तयारी राष्ट्रिय सभाको तयारी छ ।













