मधेस प्रदेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। संविधानको धारा १६८(४) अनुसार बोलाइएको बैठकमा उनले बहुमतको समर्थन प्राप्त गर्नुपर्नेछ।
पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको समर्थनमा असोज २९ गते सोनल सरकार गठन भएको थियो। प्रारम्भमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले उनको पक्षमा हस्ताक्षर गरेका थिए।
समर्थक दलको दायरा पछिल्लो दिनहरूमा अझै बढेको छ। नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन जनाएपछि सोनल सरकारसँग कुल ५७ मत रहेको देखिन्छ।
१०७ सदस्यीय प्रदेशसभामा अहिले १०४ सदस्य क्रियाशील छन्। संसद्मा कायम सदस्यको बहुमत पाउन ५३ मत आवश्यक हुन्छ। सरकारसँग यसभन्दा बढी मत भएको अवस्थामा आजको मतदान औपचारिक प्रक्रियासरह देखिएको छ।
सोनलको पक्षमा जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सांसद रहनेछन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेस र एमाले भने सरकारविरुद्ध उभिने छन्।
जनमत पार्टीका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनस्वराज पार्टीतर्फ लागिसकेकाले उनीहरूको मत कहाँ पर्छ भन्ने अझै प्रष्ट छैन। यसैगरी जसपाका सांसद सरोज सिंह कुशवहा निलम्बित रहेका कारण मतदानमा सहभागी हुने छैनन्।













