रुपन्देही–३ मा चिरञ्जीवी नेपाल कांग्रेसको उम्मेदवार बन्न इच्छुक

User Image Prime TV News १० महिना अगाडि
Image of रुपन्देही–३ मा चिरञ्जीवी नेपाल कांग्रेसको उम्मेदवार बन्न इच्छुक

काठमाडौ । रुपन्देही–३ मा १७ कात्तिकमा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट सात जनाले उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन्। तीमध्ये पूर्व गभर्नर तथा राष्ट्रपति रामचन्द्र पौडेलका पूर्व आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल प्रमुख आकांक्षीका रूपमा देखिएका छन्।

पाल्पामा जन्मिएका नेपाल हाल रुपन्देही–३ कै स्थायी बासिन्दा हुन्। पञ्चायतकालमा नै कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले यस क्षेत्रमै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। कांग्रेसबाट उम्मेदवारीको आकांक्षा राख्ने अन्य नेताहरूमा रामचन्द्र ढकाल, सुशिल गुरुङ, रमेश खनाल, प्रमोद यादव र भरत शाह छन्। ढकाल पार्टीका रुपन्देहीका पूर्व सभापति हुन् भने गुरुङ हाल क्षेत्रीय सभापति छन्।

खनाल लुम्बिनी प्रदेश समितिमा सक्रिय छन्। यस्तै, प्रमोद यादवले अघिल्लो निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रतिस्पर्धा गरेका थिए भने भरत शाह रुपन्देही–५ बाट उम्मेदवार बनेका थिए । दुबै पराजित भएका थिए।

गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका थिए। त्यसपछिको उपनिर्वाचनमा कांग्रेसले नयाँ विधिअनुसार उम्मेदवार चयन गर्ने तयारी गरेको छ। पार्टीले आकांक्षीहरूमाथि अनौपचारिक रुपमा क्षेत्रीय जनधारणा संकलन गर्ने र त्यसको आधारमा टिकट वितरण गर्ने योजना बनाएको छ।

यसका लागि पार्टी केन्द्रबाट नेताहरू खटाइ विभिन्न क्षेत्रका नागरिक, कार्यकर्ता र अगुवासँग छलफल गर्ने तयारी कांग्रेसले गरेको छ ।