कार्की नेतृत्वको सरकार, प्रतिगामी, संविधान मिचुवा र हाहुका भरमा बनेको होः केपी ओली

User Image Prime TV News १ हप्ता अगाडि
Image of कार्की नेतृत्वको सरकार, प्रतिगामी, संविधान मिचुवा र हाहुका भरमा बनेको होः केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई संविधान मिचेर प्रधानमन्त्री बनेको आरोप लगाएका छन्।

उनले कार्कीको नेतृत्वमा बनेको सरकारलाई असंवैधानिक र प्रतिगामीको संज्ञा दिएका छन्। एमालेको शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले कार्कीलाई पूर्वप्रधानन्यायाधीशको हैसियतमा संविधान मिचेर प्रधानमन्त्रीको पदमा नियुक्ति भएको टिप्पणी गरे।

"पूर्वप्रधानन्यायाधीशको हैसियतले आफैँ संविधान मिचेर प्रधानमन्त्री बन्नु गलत हो। यो भनेको प्रष्ट रूपले असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुका भरमा बनेको सरकार हो," ओलीले भने।

ओलीले कार्कीको नियुक्ति संविधानको स्पष्ट उल्लङ्घन हो। उनले भनें, "संविधानले स्पष्ट रूपमा भनेको छ कि पूर्वप्रधानन्यायाधीशलाई अन्य संवैधानिक पदमा नियुक्ति दिन सकिँदैन, सिवाय मानवअधिकार आयोगको अध्यक्षको पदमा। यसले स्पष्ट देखाउँछ कि वर्तमान सरकार संविधानका प्रावधानसँग मेल खाँदैन।"

ओलीले कार्कीको नियुक्ति घटनालाई हावाको भरमा बनेको अस्थिर सरकारको रूपमा चित्रित गर्दै भने, "२-३ हजार केटाकेटीहरूले डिस्कोर्डमा भोटिङ गरेर कार्कीलाई प्रधानमन्त्री बनाएका हुन्। यस्तो सरकारले कसरी लोकतन्त्रको सम्मान गर्न सक्छ?"

ओलीले २४ भदौको आगजनी र तोडफोडको घटनालाई उल्लेख गर्दै भने, "यो सरकार कुनै पनि लोकतान्त्रिक प्रक्रियाबाट उत्पन्न भएको छैन। यसले संविधान र जनताको प्रतिनिधित्वसँग कुनै सम्बन्ध राख्दैन।"उनले संसदको आगामी कार्यसम्पादन र निर्वाचन प्रक्रियामा सरकारको हस्तक्षेपको पनि आलोचना गरे।