रास्वपामा नेतृत्व निरन्तरताको पक्षमा स्पष्ट धारणा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको नेतृत्वमा बाहिरी व्यक्तिहरूको समावेशीकरण र रिफर्मको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छ। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पार्टीको सौराहा वैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेतृत्वको निरन्तरता र सुधारका लागि गर्नुपर्ने संरचनात्मक परिवर्तनको आवश्यकता औंल्याएका छन् ।
पार्टीका आन्तरिक छलफलका क्रममा, चर्चित व्यक्तित्वहरू जस्तै कुलमान घिसिङ र अन्य नेताहरूसँग नेतृत्वको बदलाबको सम्भावनामा छलफल भए पनि रास्वपाले मुख्य नेतृत्वमा बाह्य व्यक्तिहरूलाई समेट्ने निर्णयलाई अस्वीकृत गरेको छ।
अर्यालले भने, "रिफर्मको कुरा गर्नु र चर्चित व्यक्तिहरूलाई स्वागत गर्नुको अर्थ यो होइन कि मुख्य नेतृत्व परिवर्तन गर्नुपर्छ। हामी अहिलेको नेतृत्वलाई विस्थापित नभइ, स्थापित गर्नुपर्ने समयमा छौं।"
अर्यालका अनुसार, पार्टीको रिफर्म भनेको केवल पदहरू र जिम्मेवारीको पुनर्वितरण मात्र नभइ राजनीतिक दृष्टिकोण, संगठनात्मक संरचना र कार्यशैलीमा पनि गहिरो सुधार गर्ने प्रक्रिया भएको बताए । उनले रास्वपाको भविष्यमा स्थिरता र दिगोपनाका लागि पार्टीको मौजूदा संरचना र नेतृत्वमा सुधारको आवश्यकतामा जोड दिएका छन्।
कार्यवाहक सभापति अर्यालले पार्टीको आन्तरिक रिफर्मलाई वैचारिक र संरचनात्मक सुधारको प्रक्रिया भनेका छन् । पार्टी रिफर्मको नाममा कुनै पनि अनियन्त्रित नेतृत्व परिवर्तनको विरोध गरे । उनले भने, "पार्टीलाई भत्काएर नयाँ रिफर्म गर्नुपर्ने अवस्था छैन। हामी त अब पार्टी निर्माणको प्रक्रियामा छौं।"
अर्यालले रास्वपाका नेताहरूलाई सचेत गराउँदै भने, "रिफर्मको नाममा प्रतिगमनको खतरा हुन सक्छ। यदि केवल पदपूर्ति र जिम्मेवारीको फेरबदल गर्न चाहन्छौं भने, यसलाई रिफर्म भनिन सक्दैन। यो केवल नियमित अभ्यास हो।"
अर्यालले पार्टीको विधान र संरचनामा कुनै पनि परिवर्तन गर्न महाधिवेशनसम्म खुला र सार्थक छलफल आवश्यक रहेको बताए। "हामीले महाधिवेशनपछि मात्र पार्टीको संरचना र नेतृत्वमा कुनै ठोस परिवर्तन गर्न सक्नेछौं," उनले थपे। पार्टीका पदाधिकारीहरूको परिवर्तनको लागि महाधिवेशनसम्म कुनै निर्णय लिन नसकन्सक्ने पनि अर्यालले भने ।
रास्वपा आगामी महाधिवेशनमा पार्टीको आगामी दिशा र रिफर्मका विषयमा विस्तृत छलफल गर्ने तयारीमा छ। अर्यालले यो छलफलमा आग्रह गर्दै भने, "हामीले रिफर्मका विषयमा सबैलाई खुला र हार्दिक छलफलका लागि अग्रसर हुन आग्रह गर्दछौं।"
रास्वपाको नेतृत्व र रिफर्मको प्रक्रिया जटिल र संवेदनशील भए पनि, पार्टीका नेताहरूले आफ्नो रणनीतिक दिशा स्पष्ट गर्दै पार्टीलाई एकजुट र सक्रिय राख्नका लागि दीर्घकालीन सोच राखेका छन्। अर्यालले यस अवसरमा पार्टीलाई एक जीवित राजनीतिक संस्था बनाउन निरन्तर समीक्षा, स्वीकार र पुनर्संरचनाको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताउँदै भने, "रास्वपा एक युवा पार्टी हो, र यसले अबको समय थप सिक्न र अघि बढ्नुपर्छ।"













