नेपाली कांग्रेसमा महाधिवेशनको मिति तय गर्न अप्ठ्यारो, विवाद जारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली कांग्रेसमा महाधिवेशनको मिति तय गर्न अप्ठ्यारो, विवाद जारी

काठमाडौ । नेपाली कांग्रेस पार्टीको महाधिवेशनको मिति तय गर्ने विषयमा विवाद अझै समाधान भएको छैन। पार्टीका प्रमुख नेता शेखर कोइरालाले आज बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग बैठक गरेपछि महाधिवेशनको कार्यतालिका र मितिबारे छलफल गरेका छन् ।

कोइरालाले पुस महिनाभित्रै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले कांग्रेसको केन्द्रीय समितिले पुसको अन्त्यसम्म महाधिवेशन सम्पन्न हुने कार्यतालिका जारी गर्नुपर्ने भेलामा बताएका थिए । 

तर, पार्टीमा भने यस विषयमा विवाद कायम छ। महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्मको मिति प्रस्ताव गरेका थिए । तर शेरबहादुर देउवा पक्षका केही नेता र पूर्वपदाधिकारीहरूले उक्त मितिमा सहमति जनाएका छैनन्। उनीहरूले महाधिवेशन वैशाख महिनामा मात्र गर्नुपर्ने अडान लिएका छन्। यस कारण केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तय गर्न सकिएको छैन।

कोइरालाका पक्षधर र देउवा पक्षधर बीचको असहमति लगातार बढ्दै गइरहेको छ। विशेष महाधिवेशनको पक्षधर नेताहरूले महाधिवेशनको मिति टार्ने प्रयास गरिरहेका छन् भने नियमित महाधिवेशनको पक्षधरहरूले कार्यतालिका छिटो जारी गर्न दबाब दिइरहेका छन्।