आईजीपी खापुङले आयोगमा स्पष्टीकरण बुझाए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ। जेनजी आन्दोलनका घटनाबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगसमक्ष नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले शुक्रबार स्पष्टीकरण पत्र बुझाएका छन्।
भदौ २३ र २४ गतेको घटनामा खटिएका प्रहरी अधिकारीहरूको विवरण माग्दा सुरुवाती चरणमा आईजीपी खापुङले “जवानदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएका थिए” भन्ने सामान्य विवरण मात्र दिएको भन्दै आयोगले बिहीबार २४ घण्टाभित्र विस्तृत स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
शुक्रबार आईजीपीले लिखित स्पष्टीकरणसहित मागअनुसारका विवरण आयोगमा पठाएको छ। आयोगले प्रहरी पक्षबाट सहयोग नआएको गुनासो उठाएपछि मात्रै विस्तृत विवरण आउने क्रम शुरु भएको हो।
आयोगले बिहीबारदेखि बयान प्रक्रिया सुरु गरेको छ। पहिलो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई करिब छ घण्टा सोधपुछ गरिएको थियो। आयोगले लामिछानेसँग भदौ २४ गते नक्खु कारागारबाट निस्किएको विषयमा विस्तृत प्रश्न सोधेको थियो।
आयोगले आन्दोलनका दिन सुरक्षा व्यवस्थापनमा संलग्न प्रहरी अधिकारीहरूको पनि क्रमशः बयान लिने तयारी गरेको जनाएको छ।













