राष्ट्रपति पौडेल दोहा सम्मेलनबाट स्वदेश फर्किए

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रपति पौडेल दोहा सम्मेलनबाट स्वदेश फर्किए

काठमाडौ । कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार स्वदेश फर्किएका छन्।

सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कतारका लागि नेपाली राजदूत, परराष्ट्र सचिव तथा सुरक्षा निकायका प्रमुखहरूले उनको स्वागत गरेका छन्।

नेपाली सेनाले राष्ट्रपति पौडेललाई सम्मान गार्दा सलामी अर्पण गरेको थियो। दोहामा मंगलबारबाट शुरू भएको सम्मेलनमा राष्ट्रपति पौडेलले मुख्य सत्रलाई सम्बोधन गर्दै गरिबी निवारण, उत्पादनशील रोजगारी र सबैका लागि मर्यादित काम सुनिश्चितता, तथा सामाजिक समावेशीकरणका विषयमा नेपालका धारणाहरू प्रस्तुत गरे।

उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घ सम्बन्ध तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए।

राष्ट्रपति पौडेलले कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए। सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलोपटक आयोजित यस शिखर सम्मेलनमा विश्व आर्थिक असमानता, जनसङ्ख्यागत असन्तुलन र प्रविधिक परिवर्तनले समाजमा पारिरहेको प्रभावबारे छलफल गरिएको थियो।

संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपाल शान्ति, विकास र सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै आएको छ।